‘कमेडी दरबार’ ले हटायो गायक कुमा सागर लक्षित व्यङ्ग्य

काठमाडौँ । टिभी शो ‘कमेडी दरबार’ ले गायक कुमा सागरलाई लक्षित गर्दै व्यङ्ग्य गरिएको भाग हटाएको जनाएको छ । ‘अभियन्ता’ को दबाबपछि टिभी शो ‘कमेडी दरबार’ मा आज प्रसारणको तयारीमा रहेको भागबाट उक्त विषय हटाइएको हो ।
आफूलाई ‘अभियन्ता’ बताउने केही व्यक्तिले प्रसारण तयारीमा रहेको एपिसोडमा समावेश गायक लक्षित भागलाई काट्नै पर्छ भनेर दबाब दिएपछि आफूले हटाएको निर्देशक तथा प्रस्तोता विक्की अग्रवालले बताए । ‘ती व्यक्तिले हामीलाई हटाउन भनेको त होइन । ओएसआर युट्युब च्यानलको कार्यालयमा फोन गरेर भनेका रहेछन्’, अग्रवालले भने– ‘ओएसआरले आफूहरूलाई हटाउन भनेपछि हटाएका हौँ ।’

शोले दुई दिनअघि सार्वजनिक गरेको २८ औँ एपिसोडको ट्रेलरमा कुमा सागर लक्षित केही कमेडी संवाद समावेश गरिएको देखिएको थियो । अब आज शुक्रवार राती ९ बजेदेखि प्रसारण हुने ‘कमेडी दरबार’ को नयाँ एपिसोडमा उक्त दृश्य देख्न पाइनेछैन । कमेडियन विकास अर्याल र विश्वास तिम्सिनाले दिएको उक्त प्रस्तुतिमा उक्त दृश्य समेटिएको थियो । कुमा सागरलाई लिएर हालै सुशान्त केसीको पडकास्ट समेत विवादमा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *