नेपाली राजनीतिलाई मिनेन्द्र रिजालले दिए ‘कारोबारी राजनीति’ को संज्ञा

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेपालले चीन र भारतबाट प्राप्त गरेको भूराजनीतिक अवसरलाई महसुस गर्न राजनीति गर्ने तरिका बदल्नुपर्ने बताएका छन्।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बुधबार काठमाडौंमा गरेको नयाँ युगको कार्यभार: वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले राजनीति गर्ने पुरानै तौरतरिकाका कारण राष्ट्रिय राजनीतिमा सधैं विकल्पको राजनीति खोज्नुपर्ने बाध्यता हुने बताए।

उनले नेपालमा भारतलाई खुसी बनाएर वा घुर्क्याएर सत्तामा पुग्ने गरेको भन्दै नेपाली राजनीतिलाई कारोबारी राजनीतिको संज्ञा दिए। नेपालले चीन वा भारतको नजिक वा टाढाभन्दा पनि भूराजनीतिक हिसाबले आफ्नो राजनीतिक प्रणालीमा दृढसङ्कल्पित हुनुपर्ने उनको भनाइ छ।

उनले भने, ‘आजको जिओपोलिटिक्समा के भएको छ? सकेसम्म भारत खुसी बनाएर सत्तामा बस्ने, नसके भारत घुर्क्याएर सत्तामा जाने अनि केही गरी पार लागेन भने चीनतिर पस्ने। आजको कारोबारी राजनीति त्यही हो नि त। हाम्रो जिओपोलिटिक्सलाई नाभिगेट गर्न सक्ने त बनाउनु पर्ला नि त। चीन र भारतको महत्व बढ्दै गएको छ, बढ्दै जाने छ। त्यसभित्र नेपालले जुन अवसरहरू प्राप्त गरेको छ, त्यो अवसरलाई महसुस गर्नका लागि हामीले हाम्रो राजनीति गर्ने ढंग त बदल्नु पर्ला नि। त्यो बदलेनौं भने अन्तर्राष्ट्रिय कारणले होइन हाम्रा घरेलु कारोबारी लोभका कारणले राजनीति सधैं गिजोली रहन्छ र विकल्पको राजनीति खोजी रहनु पर्ने हुन्छ।’

नेता रिजालले विकल्पको राजनीतिक प्रणाली पनि वर्तमान संविधान भित्रैबाट खोज्न सकिने बताए। —न्युज एजेन्सी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *