जनकपुरबाट एउटा पांग्राबिनै काठमाडौं आइपुग्यो बुद्ध एयरको जहाज

बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ।

बिहीबार जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो। जहाज जनकपुरबाट काठमाडौंका लागि ४:४५ बजे उडेको थियो।

काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा टायर नदेखिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

‘लगत्तै हामीले जनकपुरमा चेक गर्न लगाउँदा विमानस्थलको रनवेको टर्निङमै ल्यान्डिङ गेयर भेटिएको छ,’ प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने।

जहाज सुरक्षित अवतरण गरिसकेको छ। जहाजमा ६२ जना यात्रु थिए। उनका अनुसार प्राधिकरणले जहाज ग्राउन्डेड गरेर छानबिन सुरू गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *