पाथीभरा केवलकार विवादमा १५ जनालाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु – ताप्लेजुङको फुङलिङबाट शनिबार पक्राउ परेका ‘नो केवलकार’ पक्षका १५ जनालाई ७ दिन हिरासतमा राख्न ताप्लेजुङ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विवेक बस्नेतले पक्राउ परेका १५ जनालाई हुलदंगा र आपराधिक उपद्रव कसूरमा ७ दिनको म्याद लिई अनुसन्धान थालेको छ ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा ६३ बमोजिम हुलदंगा गर्न नहुने तथा सोही संहिताको दफा २८५ बमोजिम आपराधिक उपद्रव गर्न नहुने कसूरमा अनुसन्धान सुरु भएको छ ।

पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका–६ स्थायी घर भई झापाको अर्जुनधारा नगरपालिका–११ बस्ने ४८ वर्षीय मित्र लिङ्देन, सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २३ वर्षीय विवेक लिम्बू, पाँचथरको फिदिम नगरपालिका–११ का २२ वर्षीय एमन राई, तेह्रथुमको आठराई गाउँपालिका–७ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका–११ बस्ने ३० वर्षीय निर्मला बराल (दर्नाल), ताप्लेजुङ जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–१ का ४५ वर्षीय नवीन पोमू छन् ।

मोरङ ग्रामथान गाउँपालिका–६ स्थायी वतन भई सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ५८ वर्षीय तुलाराम तामाङ, सुनसरीको इटहरी उपमहानगरपालिका–३ बस्ने १९ वर्षीय जुरन राई, मोरङको उर्लावारी नगरपालिका–१ बस्ने ३९ वर्षीय हरि लिम्बू, पाँचथरको फालेलुङ गाउँपालिका–८ स्थायी घर भई हाल फिदिम नगरपालिका–१ बस्ने ४० वर्षीय सुनिता केरुङ र सुनसरीको इटहरी उपमहानगरपालिका–२ बस्ने ३२ वर्षीय अर्जुन उपनामले चिनिने बिर्खबहादुर तामाङ समेतलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–२० बस्ने ३२ वर्षीय अनुप सुब्बा, इटहरी उपमहानगरपालिका–१० बस्ने १९ वर्षीय विशेष सुब्बा, पाँचथरका मिक्लाजुङ गाउँपालिका–५ घर भई हाल इलाम नगरपालिका–७ बस्ने ५१ वर्षीय योगेन्द्र लावती, झापाको अर्जुनधारा नगरपालिका–४ बस्ने २१ वर्षीय निहा चेम्जोङ र झापाकै शिवसताक्षी नगरपालिका–२ स्थायी वतन भई हाल बिर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय इक्सा लिम्बूलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *