तीन प्रदेशमा चट्याङसहित वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायूका साथै स्थानीय वायुको पनि प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहान कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिकदेखि साधारणतया बदली बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।

तराईका केही स्थानहरुमा हुस्सु लागेको छ।

सोमबार दिउँसो कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।

कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

सोमबार राति कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ।

राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा राति‍ पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आइतबार विशेष बुलेटिन जारी गरी मधेश प्रदेशका पूर्वी भू-भाग (सप्तरी) तथा कोशी प्रदेश को तराई भू-भाग (झापा, मोरङ र सुनसरी) मा मन्द शुक्रबारदेखि शीतलहर चलेको जनाएको छ।

शीतलहरको अवस्था मंगलबारसम्मै जारी रहने र त्यसपछि क्रमिक सुधार हुने पनि महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *